मधुसूदन आचार्य, क्यानडा

क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमी देशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ । सबैलाई थाहा भएकै कुराहो कि क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा हुन्छ । २५ तारिखका दिन अत्यावश्यक सेवाबाहेकका सबै पसल तथा कार्यालयहरु विदा हुन्छन् । स्कूल तथा विश्वविद्यालयहरु केहिदिन अघिदेखि नै एक वा दुईहप्ताको लागि जाडोको विदादिई बन्द हुन्छ र नयाँ बर्ष लागेपछि खुल्छ । धेरैजसो कर्मचारिहरु यसैसमयमा आफ्नो संचित विदा लिई आफ्नो मातापिता भएको ठाउंमा वा अन्यत्र घुम्न जान्छन् । कतिपय देश, प्रान्त तथा राज्यहरुमा कार्यालयहरु २६ तारिखका दिन पनि विदा हुन्छ । बेलायत लगायत कमनवेल्थ राष्ट्रमा २६ तारिखलाई बक्सिड.डे भनेर भनिन्छ र सो दिन अधिकांश पसलहरुले अत्याधिक मात्रामा सामानहरुको भाउमा छुट दिई बर्षको अन्त्यमा पुराना मोडेका सामानहरु बेच्ने हुँदा मानिसहरुको पसलहरुमा विहानै देखि घुइचो लाग्दछ ।

साना कम्पनीहरु देखि ठूला कम्पनिहरुले बर्षमा एकपटक डिसेम्बर लाग्नासाथ आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रात्रिभोज वा दिवाभोजमा निम्त्याई हर्षोल्लासका साथ खानपिन, नाचगान, एक आपसमा भलाकुसारी गरी मनाउंदछन् । त्यस्तै कतिपय साना कम्पनीहरुले रात्रिभोज वा दिवाभोज नगरे तापनि आफ्ना कर्मचारीहरुलाई क्रिसमस वोनस भनि केहि रकम दिन्छ्न । क्रिसमसमा गरिएको खर्चलाई अफिसको खर्चमा देखाउन मिल्ने कर सम्बन्धि नियमहरु सबैजसो पश्चिमि देशहरुमा छ ।

अक्टोवर ३१ तारिखका दिन हेलोइन मनाएको भोलिपल्ट नोभेम्बर एक तारिखका दिन देखि नै पसहरुमा, मलहरुमा क्रिसमसका सजाउने आदि सबैखालका सामान बिक्रिका लागि राखिन्छ । एक महिना अगाडि देखि नै कतिपय घरमा रंगी चंगी बिजुलीबाली तथा अन्य सजावटका सामानहरु प्रयोगगरी सजाइन्छ । घरभित्र क्रिसमस ट्रि सजाएर राखिन्छ । क्रिसमस ट्रि का लागि साल वा धुपिको सानो रुख वा प्लास्टिकबाट बनेको हरियो रुख प्रयोग गरिन्छ । यो रुखलाई बिभिन्न रंगी चङ्गी चिजहरुबाट सजावट गरिन्छ । आफ्ना नातेदार, इष्टमित्र, बन्धुबान्धवहरु एक आफसमा उपहार दिने गर्दछन् र आफुले पाएको उपहार क्रिसमस ट्रिको बरपर राख्दछन् ।

हामी नेपालीहरुले दशैंमा सबै परिवारजन एक ठाउँमा भेलाभई खानपिन गरे जस्तै क्रिसमस चाडमा पनि कतिपय परिवारहरु डिसेम्बर २४ तारिखका दिन नै भेलाभई विभिन्न परिकारहरु बनाई पारिवारिक रात्रीभोज गर्दछन् । तर कतिपय परिवारहरु भने डिसेम्बर २५ तारिखका दिन पारिवारिक रात्रिभोज गर्दछन् । कतिपय ठाउँमा डिसेम्बर २५ तारिखका दिन नै आफुले पाएको उपहारको प्याकेट खोल्दछन् भने कतिपय ठाउँमा भने भोलिपल्ट २६ तारिखका दिन विहान मात्रै खोल्दछन् ।

पश्चिमी धर्मनिरपेक्ष देशहरुमा क्रिसमसको विदा धार्मिकरुपमा नभई बार्षिक चाडका रुपमा दिइन्छ । अहिलेको क्रिसमस चाड व्यापारिक रुपमा बदलिएको छ । सबै उद्योग व्यवसायीहरु यसै समयमा आफ्ना विभिन्न सामानहरु बेच्ने प्रयास गर्दछन् । पश्चिमीदेशहरुमा कुनै पनि धर्मनमान्नेहरुको संख्या बढदो छ । यस्ता व्यक्तिहरुपनि क्रिसमसको बेलामा बार्षिक विदाको रुपमा क्रिसमस मनाउँदछन् । यही समयमा मानिसहरुले नयाँ ठाउँमा घुम्नजाने, मिठो खान पिन गर्ने, एक आपसमा उपहार लिनेदिने तथा व्यक्तिगत सामानकालागि अत्यधिक रकम खर्च गर्दछन् । सन् २००७ मा बेलायतम गरिएको एक सर्वेक्षण अनुसार सरदर एक व्यक्तिले झण्डै चारसय पाउण्ड क्रिसमसको बेलामा खर्च गर्दछ ।

अहिले क्रिसमस चाड संसारका दुई बिलियन मानिसहरुले मनाउँदछन् । क्रिश्चियन धर्मको कुनै इतिहास वा कुनै परम्परा नभएका देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ । इन्टरनेटको बढीभन्दा बढी प्रयोग तथा संचारको सुबिधाले गर्दा अहिलेको ग्लोवल इकोनोमिको जमानमा विविध कारण तथा देखा सिखीले वा एक आपसमा सम्पन्न देखाउन वा आफु पनि विदेशी परम्पराको ज्ञाता भएको देखाउनेआदि कारणले गर्दा नेपाल लगायत अन्य देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ ।

पश्चिमी देशमा बस्ने नेपालीहरुले कसरी मनाउँदछन् क्रिसमस ?
विदेशमा बसोबास गर्ने कतिपय क्रिश्चियन धर्म नमान्ने नेपालीहरुपनि क्रिश्चियनहरु जस्तै घर घरमा क्रिसमस ट्रि राख्ने र सजाउने गर्दछन् । पहिलो पुस्ताका नेपालीहरुले समेत आफ्ना बच्चाहरुलाई यो हाम्रो चाड हैन तर हामी यहाबसोबास गरेको हुनाले, घुमौ फिरौं, नयां लुगा कपडा, सामान किनौं, साथीभाई आफन्त मिली संगै खाना खाऔं तर क्रिसमस ट्रि चाई घरमा ल्याउन हुन्न भन्न सक्दैनन । आफ्नो धर्म संस्कृति बच्चाहरुलाई सिकाउन दशैंको टिकाको एक दिन विदालिई यसको महत्ववारेमा बच्चाहरुलाई सिकाउन सक्दैनन । तर क्रिसमस ट्रि घरमा ल्याएमा विदेशी भइन्छ भन्ने त्यस्ता नेपालीहरुलाई भ्रम परेको हुन सक्छ । दुईचार बर्ष नेपाल छोडेर बिदेशमा बस्नेहरुको यो चाल छ भने विदेशमा जन्मेका वा यहिं हुर्केका दोश्रो पुस्तादेखि के हुनेहो अचम्म लाग्दछ ।

बेलायत, क्यानडा, अमेरिका लगायत अन्य पश्चिमी मुलुकमा धेरै संख्यामा विदेशीहरु विभिन्न धर्मावलम्बीहरु बस्ने भएकाले धेरैजसो पसलमा ह्याप्पी होलिडेज भन्ने लेखिन्छ, मेरी क्रिसमस भनिंदैन । त्यस्तै अफिसको पार्टीलाई पनि क्रिसमस पार्टी भनिंदैन, एनुअल होलिडेज पार्टी भनिन्छ । सहकर्मीलाई भन्दा मेरी क्रिसमस भनिंदैन, ह्याप्पी होलिडेज, सिजन्स ग्रिटिङ भनिन्छ । तर, बिडम्बना नेपाली नेपालीहरु बीचमा नै मेरी क्रिसमस भन्दछन । विदेशी गोराले चाहिं ह्याप्पी होलिडेज भनिरहेको हुन्छ तर हामी नेपाली भने मेरी क्रिसमस भन्दछौ, कस्तो दुःखको कुरा । इमेल तथा फेसवुकमा सबै नेपाली नेपालीबिचमा मेरी क्रिसमस भनी ग्रिटिङ आदान प्रदान हुन्छ, के गर्नु यस्तो देख्दा नेपालीहरुमा देखा सिखीको सोच तथा छेपारोले रङ बदले जस्तै कति चाडै नेपालीले रङ फेरेको भनी दुःख लाग्दछ । तर उहाँहरुलाई लाग्ला मेरी क्रिसमस भनेर के भयो र ? घरमा क्रिसमस ट्रि ल्याएर के भयो र ? हुनत केहि भएन तर तपाईले आफ्नो पहिचान मेटाउंदै हुनुहुन्छ । पश्चिमी संस्कारमा तपाई आफ्नै पहिलो पुस्तामा घुलमिल भएर बिलाउंदै हुनुहुन्छ ।

हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु दशैं, तिहार, ल्होसार, बुद्धपूर्णिमा, शिवरात्री, रामनवमी, कृष्णाष्टमि, छैठ, गठेमंगल, इन्द्रजात्रा, फागु पूर्णिमा लगायत अन्य नेपालमा मनाइने चाड पर्वहरुका वारेमा बिदेशमा बसेपनि आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो । अर्काको देखासिखी गरेर आफ्नो रुटलाई लत्याउनु हुन्न, आफ्नो पहिचान भनेको आफ्नो रुट, आफ्नो संस्कृति, आफ्नो भाषा हो । अरुको धर्म संस्कृतिलाई आदर गरौं र आफ्नो धर्म संस्कृतिको जगेर्ना गरौं यहि नै सबै बुद्धिमानीको कर्तव्यहो जस्तो लाग्दछ ।

यो लेख लेख्नुको अर्थ क्रिसमस चाडको यथार्थ नेपालीभाषीलाई जानकारी गराउने उद्देश्यले लेखिएको हो । यो लेख कुनै धर्म तथा संस्कृतिको प्रचारगर्न वा कुनै धर्म संस्कृतिको निन्दा गर्नका लागि हैन । यो लेखलाई तोडमोड वा अन्य अर्थ नलगाई पढन सबैमा हार्दिक निवेदन गर्दछु । लेखको मूल उद्देश्य अरुको धर्म, चाड, परम्पराबारे जानकारी राखौं । तिनलाई आदर गर्दै आफ्नो चाड, परम्परा, धर्म (यदि तपाई कुनै धर्म मान्नुहुन्छ भन मात्र, हैन भने मानवसेवा नै ठूलो धर्म हो) आफ्ना सन्ततीहरुलाई सिकाऔं भन्ने हो ।

धन्यवाद ।

(December 19th, 2013 मा पहिलो पटक प्रकाशित)