व्रिसबेनमा एक नेपाली विद्यार्थी छुरा प्रहारबाट घाइते भएकी छिन् ।

डेढ वर्षअघि अस्ट्रेलिया आएकी धरानकी २० वर्षीया नेपाली युवती क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले गरेको छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको छ ।

प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ ।

ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ । सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेका थिए । घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।