टिमुरमा अनुसन्धान गर्ने नेपाली वैज्ञानिक अच्युत अधिकारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

Spread the love

बाल्टिमोर अमेरिका

नेपालमा प्रशस्त पाईने टिमुरमा अनुसन्धान गर्दै आएका नेपाली वैज्ञानिक डा अच्युत अधिकारीले अत्ताहुर रहमान पुरस्कार प्राप्त गरेका छन् । युनेस्को अन्तर्गतको ‘एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको यो पुरस्कार डा. अधिकारीले पाएका हुन् । अन्तर्राष्ट्रिय पुरस्कार पाएका डा. अधिकारी त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक हुन् ।

डा.अधिकारीले लामो समयदेखि आयुर्वेदमा प्रयोग भएका जटिबुटीहरुबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धान गर्दै आइरहेका छन्। उनले नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका हुन् । “टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धि र झाडापखलामामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिने कुरा मेरो अनुसन्धानबाट पत्ता लागेको छ ।” अधिकारीले नेप्लिज डायस्पोरासंग भने ।

“टिमुरको औषधीय गुणहरु हुन्छ भनेर आयुर्वेदमा उल्लेख छ र नेपाली समाजमा प्रयोग पनि भईरहेको छ । मैले टिमुरमा कुन रसायन हुन्छ र कुन रोगहरु निको पार्न मद्दत गर्छ भन्ने अनुसन्धान गरेको हुँ।”

आफ्नो अनुसन्धानले नेपाली टिमुरमा धेरै ‘टम्बुलिन’ पाइन्छ भन्ने प्रमाणित गरेकाे उनले बताए । उनको अनुसन्धानको निष्कर्शलाई आधार मानेर फ्रान्सको एउटा विश्वविद्यालयमा सुँगुरको मुटुको रक्ताचाप सम्बन्धिको अनुसन्धान गरेको थियो। यस्तै, पाकिस्तानमा मधुमेह रोग सम्बन्धि पनि अध्ययन भइरहेको अनुसन्धानकर्ता अधिकारीले बताए।

लामो समय पाकिस्तानको एक प्रतिष्ठित विश्वबिद्यालयमा प्राध्यापन गरेका अधिकारीले त्यही नै यो सबै अनुसन्धान गरेका हुन र अन्तराष्ट्रिय जर्नलहरुमा यस सम्बन्धि लेख पनि प्रकाशित गरेका छन् ।

अहिले उनले टिमुरमा हुने कुन तत्वका कारण लेक लाग्नबाट जोगिने भन्ने बारे अनुसन्धान गरिरहेका छन्। उनले भने,‘टिमुरले लेक लाग्नबाट जोगाउँछ। अहिले अन्य वैज्ञानिकहरुसँग मिलेर टिमुरमा त्यस्तो कुन रसायन हुन्छ जसका कारण लेक लाग्नबाट जेगिन्छ भन्नेबारे अनुसन्धान गर्दैछु।’

अधिकारीले अहिले अदुवाबाट तेल निकाल्ने प्रविधिमा अनुसन्धान गरिरहेका छन्। विश्वको ठूलो अदुवा निर्यातकर्ता मुलुक नेपाल भएपनि नेपाली अदुवाले बजार भाउ नपाइरहेको बेला अदुवाबाट तेल निकालेर अन्य मुलुकहरुमा निर्यात गर्न सकिने उनले बताए। उनले भने, ‘नेपालमा उत्पादन भएको अदुवा भारतमा मात्रै निकासी हुन्छ। भारतमा अदुवा नबिकेर त्यतिकै कुहिन्छ। अब अदुवाबाट तेल निकाल्न सकिन्छ। सय किलो अदुवाबाट ३ किलो तेल आउँछ। ३ किलो अदुवाको तेलको मूल्य सय किलो अदुवाकाेभन्दा धेरै मूल्य हुन्छ। नेपाली अदुवालाई विश्वमा प्रवर्द्धन गर्न सकिन्छ।’ हाल उनले विभिन्न जिल्लाको अदुवाको तेल र केमिकल प्रोफाइलिङ गरिरहेका छन्।

अधिकारीलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले यस वर्षको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको थियो। पाल्पा जिल्लाको रामपुरका युवा अधिकारीले प्राप्त गरेको यो पुरस्कारले देश कै नाम उच्च राखेको छ ।


Spread the love

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories